
धनगढी । सरकारी विद्यालय बन्द गराएर शिक्षकहरु आन्दोलनमा उत्रिएपछि सुदूरपश्चिमका ९ लाखबढी विद्यार्थी प्रभावित भएका छन्।
प्रदेशभित्र चार हजार ३०१ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका बुधबार आन्दोलनका लागि काठमाडौं पुगेका छन्। विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणासहित राजधानी पुगेका शिक्षक–शिक्षिकाहरूका कारण प्रदेशभरका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्।
सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति राखेर शिक्षक महासंघको घोषणाअनुसार आन्दोलनका लागि शिक्षकहरू काठमाडौ पुगेपछि सुदूरपश्चिमका ९ लाख २० हजार ९३७ विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ।
