
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले खेलकुद स्वयं ब्यक्तिदेखि समाज र राष्ट्रको इज्जतसँग जोडिएको हुने भएकाले खेलकूदको समग्र सुधारमा आफ्नो पहल रहने बताएका छन् । गत बर्ष सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराते प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्दै मन्त्री साउदले यस्तो बताएका हुन् ।
कैलाली जिल्ला खेलकुद समितिद्वारा आयोजित उक्त कराते खेलाडीहरुलाई सम्मान कार्यक्रममा स्वर्ण पदक बिजेता आनन्द कामी र प्रतियोगितामा ३ वटा कास्य पदक जितेकी बर्षा साउदले सम्मान स्वरुप १५ हजार रुपैयाँ नगद प्राप्त गरिन् भने सो प्रतियोगितामा २ वटा कास्य पदक बिजेता गरिमा मल्लले १० हजार रुपैया, १–१ कास्य पदक जितेका प्रदीप बैजाली मगर, खडक मगर, पुष्पा मडै, लक्ष्मी खडायत र अञ्जली चौधरीले जनही पाँच–पाँच हजार प्राप्त गरेका थिए।
यस अघि मन्त्री साउदले खेलकुद परिसरमा बृक्षारोपण गरेका थिए । उक्त कार्यक्रममा बिगत ६ दिन देखि संचालित कराते सेमिनारका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । सितोरियो करातेका ९ औं डान वरिष्ठ प्रशिक्षक केइजी तोमियामाद्वारा ५० जना कराते खेलाडीहरुलाई भाद्र २८ गते देखि दैनीक ६ घण्टा प्रशिक्षण गराइएको थियो । उनी सन् २००६ देखि प्रति बर्ष नेपाल आएर कराते प्रशिक्षण गराउँदै आएका छन्।
