सरकारले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने र अन्त्यष्टिको दिन सार्वजनिक विदा दिने निर्णय भएको छ ।’
‘अन्तिम संस्कार गर्ने दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ,’ शर्माले भनिन्, ‘उहाँले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै स्व. नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसात् गर्न सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास सरकारको रहेको छ ।’
संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएका हो ।