विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० ले परमाणु हतियारको धम्की वा त्यसको प्रयोग स्वीकार गर्न नसकिने घोषणा गरेका छन्। भारतमा शनिबारदेखि सुरु भएको जी–२० समूहको शिखर सम्मेलनले पारित गरेको घोषणापत्रले युक्रेन युद्धलाई औँल्याउँदै दिगो शान्तिको पक्षधरता देखाएका हुन्।
रुसको नाम नलिई जी–२० सदस्य मुलुकले बाली घोषणापत्रको स्मरण गराएका छन्। जस अनुसार युक्रेनमा दिगो शान्तिका लागि सबै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्रको सिद्धान्त अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्। घोषणापत्रमा सदस्य राष्ट्रहरूलाई आफ्नो सिमाना विस्तार गर्न बल प्रयोग वा धम्कीबाट अलग रहन पनि स्मरण गराइएको छ।
बलियो, दीर्घकालिक सम्बन्ध र समावेशी विकासमा जोड दिँदै समूहले घोषणापत्र स्वीकृत गरेको छ। घोषणापत्रमा सदस्य मुलुकमा निरन्तर विकासका लक्ष्य अगाडि बढाउन, दीर्घकालिक भविष्यका लागि हरित विकास सम्झौता गर्दै २१ औँ शताब्दीको बहुपक्षीय संस्था जी–२० ले बहुपक्षवादलाई पुनर्जीवित गर्न चाहेको विषयलाई महत्त्वका साथ उल्लेख गरेको छ।
त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरण र दिगो विकासका लक्ष्यको कार्यान्वयनलाई पनि संयुक्त घोषाणापत्रले जोड दिएको छ।