धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले खुला सीमा लागु औषध ओसारपसारको मुख्य चुनौती भएको बताएका छन् । शुक्रबार कैलालीस्थित फुलबारी जेसिजले ८ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री साउदले प्रदेश सरकार कुलतबाट युवालाई बचाउन लागि परेको बताए ।
लागु औषधबाट युवालाई बचाउने दायित्व सरकारमात्र नभएर समाजको पनि भएको बताउँदै मन्त्री साउदले बालबालिकालाई कुलतबाट बचाउन सरकारसँगै समाजिक संघसंस्था र अभिभावक मिलेर जानुपर्ने बताए । उनले घरबाटै लागू औषध तथा कुलतबारे पनि जनाकारी गराउनु पर्नेमा जोड दिए ।
मन्त्री साउँदले सुदूरपश्चिम भारतसँगको खुला सीमा भएका कारण प्रदेशमा लागु औषध तथा दुर्व्यसन थप चुनौतीपूर्ण बन्दै गएको बताए । लागू औषध ओसारपसारको जालो प्रदेशभर फैलिसकेको बताउँदै मन्त्रीले यसलाई रोक्न नसके दस वर्षमा कल्पना गर्न नसकिने अवस्था सिर्जना हुने बताए ।
उनले पुनः स्थापन केन्द्र खोल्ने मन्त्रालयको योजना भएको जानकारी समेत दिए । कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी विकले कुलत रहित समाज निर्माण नगरे देश नबन्ने बताइन् ।