डेंगुबाट काठमाण्डाैंमा वडाअध्यक्षकाे मुत्यु, सुदूरपश्चिम पनि उच्च जोखिममा

डेंगुबाट काठमाडौं महानगरका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाे छ । डेंगु संक्रमणपछि बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएको हाे ।

उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।

यता सुदूरपश्चिम प्रदेश पनि डेङ्गु संक्रमणको उच्च जोखिममा रहेको छ । दिनप्रतिदिन डेङ्गु संक्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यस प्रदेशमा सन २०२३ को अगस्त महिनामा मात्रै तीनसय ३१ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो आठ महिनाको तथ्यांक हेर्दा यस प्रदेशमा छ सय ५८ जनामा संक्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार जनवरीमा १५, फेब्रअरीमा ५२, मार्चमा एकसय २९, अप्रिलमा २५,मे महिनामा २२, जुनमा २६ जुलाईमा ५८ र अगस्तमा ह्वात्तै बढेर तीनसय ३१ पुगेको छ ।

प्रदेशभरीमा सबैभन्दा बढी कैलालीमा दुईसय १४ र सबैभन्दा कम बैतडीमा छ जनामा संक्रमण देखिएको छ । यस्तै दार्चुलामा एकसय ९४, कञ्चनपुरमा एकसय १९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझांगमा १२ र डडेल्धुरामा दश जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन् । गत वर्ष यस प्रदेशमा एकहजार दुईसय ८९ जनामा संक्रमण देखिएकोमा चारजनाको मृत्यु भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.