अमरगढी। सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व सोमवारबाट सुरु भएकाे छ । गाैरा पर्वकाे पहिलाे दिन पाँच प्रकारको अन्न तथा गेडागुडी धोएर विधिवत् रूपमा यस बर्षाकाे गाैरा पर्व सुरु भएको हाे।
सामुहिक सदभाव बाेकेकाे गौरा पर्व भाद्र शुक्ल पञ्चमीका दिनदेखि सुरु भएर तिथि मिति हेरी पाँच/सात दिनसम्म मनाईन्छ । पञ्चमिकाे दिन व्रतालु महिलाहरुले तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिँगारी त्यसभित्र पञ्च अन्न (गहुँ, मास, गहत, गोरस र कलउँ) बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’ का रूपमा लिइन्छ। पूजाआजाका लागि घर लिपपोत गर्ने, द्वितीया/तृतीयमा व्रतालुले लत्ताकपडा धुने/नुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउनेलगायतका काम गरिन्छ। यसरी केलाइएका बिरुडा पञ्चमीमा भिजाएर गौरा विधिवत् रूपमा सुरु हुने गरेको स्थानीय पुजारी लोकराज भट्टले बताए।
उनका अनुसार सप्तमी र अष्टमीका दुई दिन गौरा पर्वका विशेष दिन हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’ मा भित्र्याइने गरिन्छ। गौरा भित्र्याइसकेपछि वास्तविक रमझम सुरु हुने गरेको भनाइ पुजारी भट्टको छ। यी सबै धार्मिक कार्यमा मङ्गल गानका रूपमा ‘मागल’ गीत गाउने प्रचलन रहिआएको छ। गौराघरमा भित्र्याएपछि शुद्ध माटोले लिपपोत गरेको ठाउँमा निगालोबाट बनेको डालोमा पूजाआजा र फाग गीत गाउँदै राख्ने गरिन्छ।
अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ। यस दिन मङ्गलगानका साथमा गौरा नचाइन्छ। गौरालाई गौराघरको आँगनमा राखिन्छ र त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरूका साथमा नचाउने गरिन्छ। सोही दिनदेखि गाउँ गाउँका पटाङ्गिनीमा डेउडा खेलिने प्रचलन छ। गौरा पर्व पूजा आराधनाको पर्व भए पनि रमाइलोका लागि डेउडा खेल खेल्ने चलन लोकप्रिय बन्दै गएको छ। गौरालाई गौराबाहेक, गमरा, गोःरा, गवरा आदि नामले पनि सम्बोधन गरिन्छ।
गौरा पर्वमा दुई दिन बिदा
गौरा पर्वको अवसरमा सुदूरपश्चिममा भदौ ७ र ८ गते दुई दिन सार्वजनिक बिदा दिइएकाे छ। नेपाल सरकारले ७ गते र प्रदेश सरकारले भदाै ८ गतेसमेत विदा दिएकाे हाे ।
दार्चुला, बैतडी, डडेलधुरा र डोटीमा विशेष पर्वका रूपमा मनाइँदै आएको गौरा पर्व सुदूरपश्चिम प्रदेशका अतिरिक्त कर्णाली प्रदेश र सङ्घीय राजधानी काठमाडौँमा समेत धुमधामका साथ मनाइने गरिन्छ। उता भारतकाे कुमाउ गडवालमा पनि गाैरा पर्व मनाईन्छ ।