धनगढी । आउदै गरेकाे आर्थिक वर्ष २०८०/०८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर सत्तारुढ दलभित्र असन्तुष्टी देखिएकाे छ । जसले गर्दा बजेट पारित गरिसक्नुपर्ने समय नजिकिँदा समेत प्रदेश सभामा बजेटमाथि छलफल सुरु हुन सकेको छैन्।
असार १ गते बजेट प्रस्तुत गरेपछि २५ दिनमा सोमबार प्रदेश सभाको बैठक बसेको थियो। सोमबार शोक प्रस्ताव पारित गर्दै प्रदेशसभाको बैठक स्थगित भयो। शोक प्रस्ताव पारित भएपछि सभामुख भीम बहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै बैठक स्थगित गरे। प्रदेश सभा सचिवालयले यसअघि सोमबारदेखि नै बजेटमा छलफल अगाडि बढाउने गरी तयारी गरिएको जनाएको थियो। तर बजेटका सन्दर्भमा सत्ता गठबन्धनका दलहरु नै एकमत नहुँदा प्रदेश सभाको अर्को बैठक पनि अनिश्चित बनेको छ।
सत्तारुढ गठबन्धनका दलहरु काँग्रेसका केही सांसद नेकपा माओवादी केन्द्र, आर्थिक मामिलामन्त्री नरेश शाहीकै दल नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले बजेट यथास्थितिमा पास गर्न नसकिने बताउँदै आएका छन्। खास गरेर वार्षिक विकास कार्यक्रम र व्यय अनुमानका विषयमा सत्तारुढ दलभित्र असन्तुष्टि देखिएको एक नेताले बताए।
माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले जनताको आवश्यकता र औचित्य विपरीत बजेट आएको बताएका छन्। बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको दलहरुको भनाइ छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने सामूहिक निर्णय नै गरेका छन्।
माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हस्ताक्षर रहेको निर्णयमा भनिएको छ– ‘जनताको आवश्यकता र औचित्य विपरीत बजेट आएको छ। उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभूति भएको छ।’
उनीहरुले बजेट संशोधन र समझदारी नभएकोले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने बताएका छन्।