
काठमाडाैं। यस वर्ष दसैँ घमाइलो हुने भएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार यस वर्षको दसैँ अवधिभर मौसम घमाइलो रहने भएको हो । विभागले शुक्रबार दसैँ विशेष मौसमी बुलेटिन जारी गर्दै यस वर्षको दसैँमा ठुलो वर्षा नहुने प्रस्ट पारेको छ ।
केही स्थानमा फाट्टफुट्ट वर्षा भैरहे पनि शुक्रबारदेखि दिन घमाइलो हुने मौसमविद् निष्ठा निरौलाले जानकारी दिए । उनले भने, “ठुलो मौसमी प्रणाली छैन, ठुलो वर्षा हुने सम्भावना पनि छैन, त्यसैले यो वर्ष दसैँ घमाइलो हुने भएको हो ।”
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बहिर्गमन भएसँगै नेपालको अधिकांश आकाश सफा हुने क्रममा छ । बिहीबार सानो प्रणालीले बदली गराए पनि वर्षाको प्रभाव ठुलो नरहने औँल्याइएको छ । महाशाखाका अनुसार शुक्रबारसम्म पश्चिमी वायुको आंशिक प्रभाव रहने छ । दसैँलगत्तै कुनै ठुलो प्रणालीको आगमन नेपालमा हुने सम्भावना कम देखिएको छ ।
उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । पहाडी भेगमा एकाध स्थानमा हल्का वर्षाको सम्भावना भने कायमै छ । साथै देशको तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु कुहिरोको सम्भावना रहेको छ ।
