प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदै, यस्ताे छ कार्यतालिका

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा बुधबारदेखि चार दिवसीय भारत भ्रमणमा जाँदै छन् । तेस्राे पटक प्रधानमन्त्री भएपछि पहिलाे बिदेश भ्रमण भारत राेजेका प्रचण्डले सकेजति राम्रो गर्ने, नसके केही नगर्ने मनस्तिथीमा रहेकाे बताएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताए । भ्रमण तालिका, एजेन्डा, प्राथमिकता र प्रतिनिधिमण्डलको टुंगो लागेको उनले जानकारी दिएका छन् । मन्त्री साउदका अनुसार भ्रमण टोली बुधबार बिहान नयाँदिल्ली प्रस्थान गर्ने र साँझ भारतीय राजदूूतावासमा स्वागत समारोह हुने बताए । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीबाहेक राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेट गर्ने कार्यक्रम छ ।

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको भन्दै मन्त्री साउदले आमनिर्वाचनपछि प्रधानमन्त्रीको हुन लागेको उच्चस्तरीय भ्रमणले थप सुदृढ र घनिष्ट हुने विश्वास व्यक्त गरे । ‘सरकारका तर्फबाट पर्याप्त तयारी गरेका छौँ । यो तयारीबाट प्रधानमन्त्रीले सरकारको दरिलो प्रतिनिधित्व गर्नुहुनेछ,’ उनले भने, ‘उच्चस्तरीय भ्रमणले थप सुदृढ र घनिष्ट हुनेछ । यस्तै भ्रमणका क्रममा विद्युत् व्यापार विस्तारको एजेन्डालाई महत्व दिइने बताए । विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालको ट्रान्समिसन लाइन बनाएर विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँग पनि विद्युत् व्यापारको आधार तयार गर्ने कोसिस गरिने उनले बताए । ‘भारतीय भूमि प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने कुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय छ,’ उनले भने ।

नेपालमा विद्युत् क्षेत्रमा लगानी अभिवृद्धि गर्न विद्युत् बिक्री हुने बजार सुनिश्चित गर्नु महत्वपूर्ण विषय रहेको बताए । ‘यो कुरालाई दृष्टिगत गरेर भारतसँग दीर्घकालीन रूपमा ऊर्जाको व्यापार गर्न कोसिस गरिरहेका छौँ । जसले नेपालमा अर्बाैँ लगानी गरेर विद्युत् उत्पादन गरिसकेपछि त्यसको उत्पादनको बिक्रीमा लगानीकर्ता आश्वस्त हुन सकून्,’ उनले भने । तीन–चारवटा ट्रान्समिसन लाइन बनाउने र त्यसपछि विद्युत् व्यापार प्रभावकारी रूपमा हुने गरी अगाडि बढ्ने प्रयत्नमा आफूहरू रहेको उनको भनाइ थियो ।

नेपाल भूपरिवेष्टित देश भएकाले भारतसँग ट्रान्जिट सन्धि अति महत्वपूर्ण रहेको भन्दै मन्त्री साउदले भ्रमणमा सन्धि संशोधनलाई अन्तिम रूप दिने प्रयत्न गरिने बताए । उनले भने, ‘खुला सिमाना रहेको भारतसँग व्यापार घाटा छ । त्यसैले हाम्रो कृषि उत्पादनको भारतीय बजारसँग पहुँच हुन सकोस् भनेर आग्रह हुनेछ ।’

ट्रेड सन्धि अद्यावधिक गर्न दुई देशका अधिकारीबीच छलफल भइरहेको भन्दै मन्त्री साउदले निष्कर्षमा पुर्‍याउन सके व्यापार सरलीकृत हुने बताए । यसका लागि उद्योग वाणिज्य क्षेत्रलाई पनि भ्रमणमा समावेश गरिएको र भारतीय लगानीकर्तासँग सम्भावनाबारे छलफल हुने बताए । कनेक्टिभिटीको क्षेत्रमा रक्सौल–वीरगन्ज–सिमरा नाका ज्यादै व्यस्त रहेको भन्दै त्यसको विकल्पमा नयाँ व्यापारिक नाकाका लागि सम्भाव्य ठाउँबारे भारतसँग छलफल भइरहेको उनले जानकारी दिए । ‘विशेष गरी महेन्द्रनगर, नेपालगन्ज र भैरहवा तथा विराटनगरलगायत विभिन्न नाकाबारे कुरा गरिरहेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धि आउने विश्वास लिएका छौँ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेश र उत्तराखण्ड राज्य जोड्ने महाकाली नदीमा पक्की पुलहरू बनाउने सहमति कार्यान्वयनमा ठोस पहलकदमी हुने मन्त्री साउदको भनाइ छ । भ्रमणका क्रममा नेपालगन्ज चेकपोस्ट (आइसिपी) उद्घाटन गर्ने र केही सुक्खा बन्दरगाह शिलान्यास गरेर अगाडि बढाउने तयारी रहेको पनि उनले जानकारी गराए । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रस्ताव राख्ने उनले बताए । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदारीलाई हटाउनेबारे पनि छलफल हुने र एयर रुट प्राप्त गर्न सकारात्मक वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

भारतसँग थाती रहेका सीमादेखि रहेर अरू मुद्दामा नेपालले आफ्नो दृष्टिकोण राख्ने मन्त्री साउदले जानकारी दिए । दुई देशका विभिन्न तहका कमिटी र वर्किङ ग्रुपले विविध सम्बन्धमा काम गरिरहेको भन्दै तत्काल गर्न सकिने र दीर्घकालीन काम छुट्याएर अघि बढ्ने समझदारी बनेको पनि उनले सुनाए ।

नेपाल र भारतका प्रधानमन्त्रीको तहमा हुने वार्ताको एजेन्डाबारे दुई देशका अधिकारीबीच मंगलबार भारतीय विदेश मन्त्रालयमा छलफल भएको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदी र भारततर्फको नेतृत्व विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने उत्तर डिभिजन प्रमुख अनुराग श्रीवास्तवले गरेका थिए ।

दिल्लीमा तयारी
बुधबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्दै छन् । प्रचण्ड–मोदीबीच वार्ता बिहीबार बिहान हैदराबाद हाउसमा हुनेछ । प्रधानमन्त्री प्रचण्डसहितका प्रतिनिधिमण्डललाई चाणक्यपुरीको आइसिटी मौर्य होटेलमा बस्ने प्रबन्ध मिलाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.