जनआन्दोलनका घाइते ‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन

काठमाण्डाैं । जनआन्दोलन २०६२-०६३ मा घाइते ‘ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको निधन भएको छ । उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उनकाे बुधबार साँझ ६ः१८ बजे मृत्यु भएको हो ।

१८ वर्ष अघि अर्थात् वि सं. २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय उनी घाइते भएका थिए। जनआन्दोलनका क्रममा घाइते हुन पुगेका मुकेशलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि उपचारका लागि शिर मेमो रियल अस्पताल लगिएको थियाे । उपचारका क्रममा मृत्यु हुनु भएका ज्यूँदो शहीद मुकेशको शव राति नै घरमा ल्याइएको छ । मुकेशका गुठियार, प्रतिष्ठानको पदाधिकारी भेला भएपछि गुठियार र प्रतिष्ठानले शवको दाह संस्कारको विषयमा निर्णय गर्ने जनाइएको छ ।

जनआन्दोलनका क्रममा घाइते भई ओछ्यानमा नै पर्नु भएका मुकेशलाई वीर अस्पतालमा ११ महिना उपचार गराएर मुकेशलाई २०६३ फागुन ११ गते घर ल्याइएको थियो । उहाँलाई विभिन्न समयमा विभिन्न समस्या देखा परेपछि वीर अस्पताल, अन्नपूर्ण न्युरो, मेडिसिटी, स्पार्क हेल्थ होमलगायतका अस्पतालहरूमा उपचार गरिएको थियो ।

२०७६ सालमा सिजर(छारे रोग) जस्तो देखा परेर मस्तिष्कको नशाले काम नगरेपछि अप्रेसन समेत गरिएको थियो । सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपियाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपियाँको व्यवस्था गरेको थियो ।

जनआन्दोलनमा घाइते भएका मुकेशको परिवारलाई सरकारले क्षतिपूर्ति बापत सुरुमा साढे नौ लाख, मह जोडीले सुरु गरेको जनआन्दोलन कोषबाट दुई लाख, विभिन्न सङ्घसंस्था र राजनीतिक संयन्त्रबाट समेत सहयोग प्राप्त भएको थियो भने पछि सरकारले पुनः साढे सात लाख दिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.