गोकर्ण दयाल
बैतडी। बैतडी, बझाङ र दार्चुला जिल्लाको यात्रा गाडीमा गर्दा करिब दुई दिन लाग्छ । बैतडीबाट बझाङ पुग्न पनि गाडीमा एक दिन लाग्छ तर सुदूरपश्चिमका हिमाली जिल्ला दार्चुला, बझाङसँगै बैतडीका चारवटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी भने एक जना कर्मचारीमा छ ।
बैतडी र दार्चुला जिल्ला हेर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापालाई बैतडीस्थित भवन डिभिजन कार्यालय र बझाङको पूर्वाधार विकास कार्यालयको पनि जिम्मेवारी थपिएपछि उनका अफिस तीन जिल्लाका चार पुगेका हुन् । बझाङ एक दिन बसेर उनी भोलिपल्ट दार्चुलाको स्थलगत कार्यालय पुग्छन अनि त्यहाँका योजना हेरेर उनी फेरी पूर्वाधार विकास र भवन डिभिजन कार्यालय बैतडी पुग्दा चार दिन बित्छ ।
अहिले चालु आर्थिक वर्षकाे अन्तिम चाैमासिक भएकाले होटलमा खाना खाएर रातबिरात गाडीमा दगुर्दा जङ्गबहादुरले राम्ररी सुत्न नपाएको कैयौँ रात भइसकेको छ । उनी दार्चुला र बझाङको कार्यालयका योजना हेरेर मङ्गलबार बैतडी आइपुगेका छन् । राति नहिँडे अर्को जिल्लाको काम गर्न नभ्याइने भएकाले दौडधुप गरिरहेको थापाले बताए ।
तीन जिल्लाका चारवटा कार्यालयमार्फत झन्डै दुई अर्बका ३२२ वटा सडक पूर्वाधार र भवन निर्माणका योजना सञ्चालित छन् । समयमै योजना पूरा गर्नुपर्ने दायित्व आइलागेपछि उनी दिनभरि एक जिल्लाको काम सकेर रातभर हिँडी भोलिपल्ट अर्को जिल्लाको काम गर्नुपर्ने बाध्यतामा छन् ।
प्रदेश मातहतका पूर्वाधार विकास कार्यालय र भवन कार्यालयमा योजनाको चाप भए पनि पर्याप्त जनशक्ति नहुँदा तीन जिल्लाका चारवटा कार्यालयबाट एउटै व्यक्तिले सेवा दिनुपर्ने बाध्यता छ । योजना र बजेटअनुसार प्रदेश मातहतका कार्यालयमा जनशक्ति नहुँदा तीन जिल्लाका चार ठाउँबाट काम गरिरहेको थापाले बताए । योजना मात्रै होइन, कर्मचारीलाई तलब खुवाउन पनि थापा नै चाहिन्छ ।-गाेरखापत्रबाट