घोडाघोडी। कैलालीमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका छन् । घोडाघोडी नगरपालिका –२ साँडेपानीका जनकला शाही र उनकी छोरी भूमिका शाही आइतबार सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा गएका थिए ।
सेउलाको भारी बनाउँदै गर्दा एक्कासि चितुवा देखेपछि जनकलाले हतारहतार छोरीलाई आफूतिर तानेर नजिकै रहेको रुखमा चढेको बताइन्। जनकलाले कापीरहेको स्वरमा भनिन् ‘‘छोरीले मम्मी बाघ आयो भन्दाभन्दै नजिकै आउन लागेकाे देखे, हतारहतार छोरीलाई तानेर नजिकै रुखमा चढाएँ अनि म पनि चढेँ, रुखबाट अर्को बाघ पनि डाँडाबाट आउन लागेको देखेँ ।’’
दुईवटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाइन् । त्यहाँबाट इलाका प्रहरी कार्यालय सुखडको नम्बर पाएपछि प्रहरीलाई फोन गरी बोलाएको उनले बताइन् । करिब एक किलो मिटर दूरीमा प्रहरी कार्यालय रहेकाले खबर पाउनासाथ प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी वीरेन्द्र विकले ‘बाघले हामीलाई घेर्यो हामीलाई बचाउनुस्’ भन्दै अतालिँदै फोन आएपछि आफूहरू पाँच/छ मिनेटमा जङ्गलमा पुगेको बताए । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो ।
चिडिया ताल सामुदायिक वन महेन्द्र राजमार्गसँग जोडिएको सुखड बजार नजिकै छ । स्थानीयहरू रुखबाट झरेको स्याउला मलको रूपमा प्रयोग गर्न गर्मी समयमा जङ्गल जाने गर्दछन् । प्रहरी प्रमुख डिएसपी विकले यतिखेर वनजङ्गलमा जङ्गली जनावरको आवतजावत बढेको बताउँदै एक्लै सामुदायिक वनमा घाँस, स्याउला लिन नजान आग्रह गरे ।
समयमै प्रहरीलाई खबर भएकाले आमा जनकला र छाेरी भूमिका ठुलो दुर्घटनाबाट बचेका छन् । जनकलाले समयमै प्रहरी पुगेर ज्यान जोगाएकोमा प्रहरीलाई धन्यवाद दिइन् । -गाेरखापत्रबाट