धनगढी । कैलालीको भजनी–५ लालबोझी कर्मदेवका जोगी चौधरी सदरमुकाम आउजाउका लागि कान्द्रा नदीमा काठेपुलबाट वारिपारि गर्छन्। स्थानीय सरकारलाई दिनको कम्तीमा ५० रुपैयाँ तिर्दा महिनामा उनकाे १५ सय रुपिया नदी तर्न मात्रै खर्च हुन्छ।
भजनी नगरपालिकाबाट बर्खामा डुंगा र हिउँदमा काठेपुल सञ्चालनको ठेक्का स्थानीय भीम विकले पाएका छन्। काठेपुलमा वारिपारि गर्नेलाई उनी प्रतिव्यक्ति १० रुपैयाँ र साइकल, मोटरसाइलसहितको ३० रुपैयाँ लिन्छन्।
भजनी नगरपालिका क्षेत्र नागबेली जस्तै बगेको कान्द्रा नतरेर लालबोझीका बासिन्दा भजनी बजार आउजाउ गर्न सक्दैनन्। लालबोझीका बासिन्दाका लागि नगरपालिकाको केन्द्र भजनी दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार पनि हो। लालबोझीका माध्यमिक तह र क्याम्पस पढ्ने विद्यार्थीले पनि बर्खामा डुंगा र हिउँदमा काठेपुलको प्रयोग गर्नुपर्छ।
लालबोझीका बासिन्दाले महिनामा कम्तीमा १ हजारदेखि १५ सयसम्म काठेपुल वारपार गरेको मात्रै तिर्नुपरेको स्थानीय बिर्खबहादुर साउदले बताए। ‘कृषि पेसा गर्ने हामीलाई महिनाको १५ सय धेरै ठूलो हो,’ उनले भने, ‘स्थानीय सरकारले काठेपुल ठेक्का लगाएर हामीसँग शुल्क लिइरहेको छ।’स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन्। पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ।
स्थानीयवासीले पालिकालाई भन्दा पुल निर्माणको ठेक्का लिने कम्पनीलाई बढी फाइदा भएको छ। ठूला सवारीसाधन पुलबाट नभई नदीबाट वारपार गराउनुपर्छ। यसरी नदीबाट सवार गर्दा सवारीसाधनबाट पैसा सङ्कलन गर्ने गरेको स्थानीय बताउँछन्। कान्द्रामा पुल बन्न लागेको एक दशकभन्दा बढी भयो। समयमै पुल निर्माण नहुनुको कारण बिचौलिया हुन्। टीकापुरबाट हुलाकी राजमार्ग हुँदै धनगढी पुग्न करीब ७५ किलोमिटर छ। महेन्द्र राजमार्गबाट जाँदा अलि लामो पर्छ।