नामाकरण भएको खुसियालीमा कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सभाको हिजोको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामाकरण गरेको थियाे।
प्रदेशको नाम कोशी राख्न एमाले, कांग्रेस, माओवादीका, राप्रपाले समर्थन गरेका थिए । नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद अनुपस्थित रहे । यसैबीच, नामाकरणबारे पहिचान पक्षधर र भूगोल पक्षधरको चर्को दबाब नपरोस् र आन्दोलन पनि नहोस् भनेर विराटनगरमा निषेधाज्ञा लागू गरिएको छ । विराटनगरमा हिजोदेखि नै सुरक्षा व्यवस्था कडा परिएको छ । हिजो दिउँसो प्रदेश सभा भवन अगाडि प्रदर्शनसमेत भएको थियो ।
स्थानीय देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर अर्को आदेश नभएसम्मका लागि कुनै किसिमका सभा, जुलस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको छ ।