पुरानाे पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्दै, निर्णायक बार्ता हुने

काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु आज पनि सक्रिय छन् । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गरेर आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी छ ।

हिजो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो । उक्त छलफलपछि नेताहरुले पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए । सोही बैठकमा भएको कुराकानी अनुसार आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न काँग्रेस सभापति देउवा बालुवाटार पुगे । भेटमा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने संभावित व्यक्तिको बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

नेपाली कांग्रेसले  वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ। अहिले माओवादी–जसपा र माओवादी–एकीकृत समाजवादीबीच छलफल गर्ने तयारी छ । बैठक राष्ट्रपतिको उम्मेदवार चयनमा केन्द्रित हुनेछ । आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता हुँदैछ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेकाे थियाे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.