अख्तियारमा मुद्दा परेपछि सुदूरपश्चिम प्रहरीप्रमुख सिंहले दिए राजीनामा

धनगढी । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको जन्म मितिलगायतका शैक्षिक प्रमाणपत्र फर्जि रहेकाे अख्तियारमा मुद्दा परेपछि उनले आज बुधवार राजीनामा दिएका हुन ।

सिहले बुधवार प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका छन । डीआईजी सिंहले राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको पाइएको थियो । उनीविरुद्ध फागुन ६ गते अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी परेको थियाे ।

बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएको स्रोतले बतायो । नागरिकताको प्रमाणपत्रमा उनी २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको उल्लेख छ । उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ साल जेठ २२ गते जन्मिएको हुनुपर्छ । यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिन्छ ।

तत्कालीन अवस्थामा सिंह वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी पदमा कार्यरत थिए । प्रहरी नियमावली २०७१ को नियम १२७ अनुसार एसएसपीले अनिवार्य अवकाश पाउने उमेर ५५ वर्ष हो । त्यस हिसाबले सिंहले एसएसपी छँदै २०७९ जेठ २२ गते अनिवार्य अवकाश पाउनुपर्ने थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.