नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् । कांग्रेस रुपन्देही क्षेत्र १ ले आज तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
पुस १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने उनले बताए । महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्नेगरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेट विपरीत बनेको वर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गरे ।
चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनैतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाले बताए । नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे ।
फागुन २५ गते कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति नबन्ने दाबी गरे ।