धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। मंगलवार डिल्लीबजार कारागारमा बसेको बैठकले यस्तो निर्णय हो।
उन्मुक्तिका नेता रेश्मलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबीच भएको बैठकले विश्वासको मत नदिने निर्णय गरेको छ। नेकपा (एमाले)का राजेन्द्र सिंह रावल सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने बताएका बेला नागरिक उन्मुक्तिले मत नदिने निर्णय गरेको हो।नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका रावल संकटमा परेका छन्। उनले विश्वासको मत नपाए नेपाली काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।