सुदूरपश्चिमकाे अछाम र कैलालीमा नयाँ कुष्ठराेगी भेटिए

धनगढी। सुदूरपश्चिमका दुई जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी रहेको पाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले कैलाली र अछाम कुष्ठरोगमुक्त हुन बाँकी रहेको जानकारी दिएको छ । कुष्ठरोग निवारण हुन बाँकी रहेका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमका कैलाली र अछाम हुन् ।

सरकारले १३ वर्ष अघि नेपालबाट कुष्ठरोग निवारणको घोषणा गरेको गरे पनि बिरामीहरु शून्यको अवस्थामा पुर्‍याउन नसकिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले बताए । उनले कैलाली र अछाममा कुष्ठरोग समस्याका रूपमा देखिएको र अन्य सात जिल्लामा निवारण भए पनि निर्मुल हुन नसकेको बताए ।

ओझाका अनुसार प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी हुनुलाई नै निवारण मानिन्छ । सो मापदण्ड अनुसार सुदूरपश्चिमबाट कुष्ठरोग निवारण भएको मानिने भए पनि बसरामीको संख्या २०५ छ । बिरामीहरू अझै उपचारको दायरामा आउन नसकेकै कारण संख्या घट्न नसकेको ओझाले बताए । लुम्बिनी र मधेस प्रदेशपछि सबैभन्दा बढी कुष्ठरोगीको संख्या सुदूरपश्चिममा छ ।

निवारणको दरभन्दा माथि बिरामी भएका दुई जिल्लामध्ये कैलालीमा १३१ र अछाममा २५ जना बिरामी देखिएका छन् । निवारण दरभन्दा कम बिरामी भएको कञ्चनपुरमा पनि बिरामीको संख्या ३२ छ। कुष्ठरोग निवारण नभएका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमको अछाम मात्रै पहाडी क्षेत्रमा पर्छ ।

यसले तराई क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि कुष्ठरोगका बिरामीहरूको खोजपड्ताल गर्नुपर्ने देखाएको नेपाल कुष्ठरोग संघ कैलाली शाखाका सभापति सीताराम जोशीले बताए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.