बैदेशिक राेजगारी छाेडेर घरवारीमा तरकारी लगाउँदा मनग्य आम्दानी

कञ्चनपुर । वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यवसायिक तरकारी खेतीमा संलग्न हुँदै आएका छन्। साउदीअरबको गर्मीमा काम गर्दा गर्दै बिरामी भएर घर फर्केका चौधरी उपचारपछि स्वास्थ्य लाभ गरेर तरकारी खेतीमा लागेका हुन्। दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी गएका उनी स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाई स्वदेश फर्किका थिए।

“विदेशमा छँदा बिरामी परेँ”, उनले भने, “घर फर्केपछि उपचार गरे, निको भएपछि घरमै खाली बस्नुभन्दा तरकारीखेतीमा लागेँ, बुबाले थोरै जग्गामा तरकारीखेती गर्थे, त्यसलाई विस्तार गरी व्यावसायिक बनाए।” सुरुमा थोरै जग्गामा तरकारीखेती गरेका चौधरीले बिस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगेका छन्।

हाल डेढ बिघा जग्गामा उनले तरकारी लगाएका छन्। चौधरीको बारीमा काउली, बन्दा, गोलभेँडा, बेमौसमी काँक्रा, स्कुस, आलु र साग रोपिएको छ। वर्षभरि नै तरकारी खेती गर्दै आएका चौधरीको वार्षिक आम्दानी १० लाख बढी रहेको छ। वर्षमा उनले १५ लाख जतिको तरकारी विक्री गर्छन्। मलखाद, बीउबिजन, कीटनाशक औषधी जोताइ, सिँचाइ, ढुवानीमा गरी वर्षमा पाँच लाख खर्च गर्दै आएका छन्। उनकाअनुसार खर्च गरिएको रकमभन्दा तरकारी खेतीबाट दोब्बर बढी आम्दानी हुने गरेको छ। तरकारी उत्पादनका लागि उनले आफ्नै लगानीमा तीन प्लाष्टिकका टनेल निर्माण गरेका छन्। टनेलमा अहिले बेमौसमी काँक्राका बोट रोपिएका छन्।

अरू बेला टनेलमा बेमौसमी तीतेकरेला, लौका, फर्सी रोप्ने गर्छन्। श्रीमती, बहिनी र बुबाले उनलाई तरकारी खेतीमा सघाउने गरेका छन्। “गत वर्ष बजार नपाएर झन्डै २० क्विन्टल गाडामा लोड गरेर बिक्रीका लागि लगेको लौका बिक्री नहुँदा घाटा व्यहोर्नु प¥यो”, उनले भने, “बजारमा सहज रुपमा तरकारी बिक्री गर्न पाइए अझै उत्पादन बढाउन सकिन्छ, सानो बजार छ, बिक्री गर्न नै धौधौ छ, त्यसैले बढी तरकारी उत्पादन गर्न पाएका छैनौँ।”

बजारमा खपत हुने जति तरकारीको अनुमान गरेर उत्पादनमा जोड दिइँदै आएको उनले बताए। स्थानीय कलुवापुर, झलारीका व्यापारीसँग समन्वय गरेर तरकारी बिक्री हुने गरेको उनले बताए। बर्सातका बेला चौधरीले बर्खे तरकारीमा तनेबोडी, तीतेकरेलाको खेती गर्दै आएका छन्। विदेश जाँदा लागेको ऋण तिरेर तरकारी खेतीकै पैसाले गाउँमै उहाँले चारकोठे पक्की घर निर्माण गरेका छन्। उनले तरकारीखेतीसँगै १५ उन्नत जातका बाख्रासमेत पालेका छन्।

“खसी, बोका, पाठापाठी बिक्री गरेर वर्षमा ४० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको छ, गएको वर्ष स्थानीय जातका कुखुरा पनि पालेका थियौँ”, चौधरीकी श्रीमती विनाले भने, “ कुखुराबाट खासै गतिलो आम्दानी हात पार्न सकेनौँ, त्यसैले यस वर्ष पालेका छैनौँ।” तरकारी खेती गर्ने किसानलाई बैंकले विना धितो तरकारीखेती गरेकै आधारमा ऋण दिने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.