थारु समुदाय माघिकाे उल्लासमा

धनगढी । यति बेला कैलाली कञ्चनपुरका थारु बस्ति उल्लासमय भएका छन् । पुस अन्तिम दिन जिता मारेसँगै (सुङ्गुर काट्ने) सुरुहुने पर्व तीन दिनसम्म धुमधामसँग मनाउने गरिन्छ। माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि हो।

तीन दिनसम्म धूमधामसँग मनाइने यो पर्वलाई थारु समुदायका मानिसले पुस अन्तिम दिनबाट मनाउने गर्दछन्। माघ यो समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि हो । भोलि माघ १ गतेबाट थारु सम्वत् २६४६ सुरु हुने जनाइएको छ। माघ पर्व सुरु भएसँगै थारु गाउँवस्तीमा उल्लास बढेको छ । गाउँघर माघ सम्बन्धित गीतले गुञ्जायमान छ ।

माघ पर्वको पहिलो दिन वर्षदिनभरको दुःख, पीडा बिर्सेर मिठो मसिनो खाएर रमाउने चलन छ । यो दिन सबैको घरमा अनिवार्य रूपमा सुँगुरको मासुलगायतका परिकार पाक्ने गर्दछ । माघको पहिलो दिनलाई ‘जिटा मर्ना’ पनि भन्ने गरेको पाइन्छ ।थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीकाअनुसार पहिलो दिन गाउँघरमा मीठो खाने, नाचगान गरेर रमाइलो गर्ने चलन छ । माघमा थारु समुदायका मानिसले मघौटा नाच नाच्ने, डफको तालमा धमार र ढुमरु गीत गाउने गर्दछन् । कतै–कतै रातभर नाचगान गरेर जाग्राम बस्ने चलन पनि छ । माघ १ गते माघ पर्वको सबैभन्दा विशेष दिन र थारु समुदायको नयाँ वर्ष हो।

पर्वको अन्तिम दिन घरपरिवार, गाउँ समाजको नयाँ नेतृत्वकर्ता चयन गर्ने गरिन्छ। यो दिनलाई ‘खोज्नीबोज्नी वा माघी देवानी’ भन्ने गरिन्छ। यस दिन भल्मन्सा चुन्ने काम गरिन्छ। माघीको दिन ढिक्री, मासु, तरुललगायतका परिकार खाने चलन थारु समुदायमा रहेको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.