सुदूरपश्चिममा अबैधरुपमा चलेका १३ क्रसर उद्योग बन्द गरिए

धनगढी। मापदण्डविपरीत सञ्चालनमा रहेका सुदूरपश्चिम प्रदेशभित्रका १३ क्रसर उद्योगहरु बन्द गर्न लगाइएकाे सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।  कुल ३९ वटा क्रसर उद्योग सञ्चालनमा रहेको पाइएकोमा तीमध्ये १३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएपछि सम्वन्धित जिल्ला प्रशासन कार्यालयले बन्द गर्न क्रसर सञ्चालकलाई पत्राचार गरेका हुन्।

एक साताको अवधिमा सुदूरपश्चिमका ५ जिल्लामा १३ क्रसर उद्योग बन्द गरिएको छ। गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्न सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो। मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगविरुद्ध गृह प्रशासन आक्रामक बनेपछि अछाममा तीन, कैलालीमा ४, बैतडीमा एक, कञ्चनपुरमा चार र दार्चुलामा भएको एउटा मात्र क्रसर उद्योग पनि बन्द गरिएको छ।

बैतडी जिल्लामा कुल पाँचवटा क्रसर उद्योग छन। प्रशासनले मापदण्डविपरीत सञ्चालन भएको भन्दै एउटा उद्योग बन्द गर्न पत्राचार गरेको छ। अछाममा ६ मध्ये तीन उद्योग बन्द गरिएको छ। सबैभन्दा बढि कञ्चनपुरमा १३ क्रसर उद्योगमध्ये ४ बन्द गर्न पत्राचार गरिएको छ। त्यस्तै कैलालीमा १२ उद्योग रहेकोमा चारवटा बन्द गर्न उद्योग सञ्चालकलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्लाअधिकारी यज्ञराज जोशीले जानकारी गराएका छन्।

त्यस्तै दार्चुलामा एउटा मात्र उद्योग रहेकोमा सो उद्योग समेत मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि बन्द गरिएको छ। डोटीमा दुई उद्योग छन्। अहिले दुवै उद्योग सञ्चालनमै रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा ३९ क्रसर उद्योग रहेकोमा १३ उद्योग मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि बन्द गरिएको सम्वन्धित जिल्ला प्रशासन कार्यालयको अभिलेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.