धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समय सम्मको लागि स्थगित गरिएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि सूचना टाँस गरि स्थगित भएको हो ।
याेसँगै प्रदेश सभामुखकाे निर्वाचन अलपत्र भएकाे छ । बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार बिहान ११ बजे पुन: मतदान गर्ने समय तोकिएको थियो । तर बिहान बसेको सर्वदलीय बैठकमा पुन: मतदानको विषयमा सहमति हुन नसकेपछि प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
उता नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति नभएसम्म सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचनमा सहभागी नहुने अडान लिएको छ। नागरिक उन्मुक्तिले तीन मन्त्रालय, दुई संसदीय समितिको सभापतिमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने अडान लिएको हो।