काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदको शपथ आज बिहीबार हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रतिनिधि सभामा निर्वाचित अन्य सदस्यलाई शपथ गराउँदै छन् । शपथ दिउँसो १ बजे हुने संसद् सचिवालयले जनाएको छ ।
त्यसअघि १२ बजे सर्वदलीय बैठक बस्ने गरी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलबाट एक एक जना र स्वतन्त्र पाँच जना सांसदलाई संसद् सचिवालयले बैठकमा डाकेको छ । बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानमा ज्येष्ठ सदस्यलाई राष्टपतिले र अन्य सदस्यलाई ज्येष्ठ सदस्यले शपथ गराउने उल्लेख छ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ ।
शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।