काठमाडौं । नेपाली संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्। मंगलबार बिहान बसेको बैठकले शेखर पक्षबाट गगनलाई संसदीय दलको नेता बनाउने निर्णय भएको कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिए। संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता गर्नु केहि समयअघि काठमाडौंमा बसेको थियो।
नेता भण्डारीका अनुसार मुलुकको राम्रो भविष्य र आफ्नो समूहको विचारधारालाई एकतावद्ध गर्नका लागि दलको नेताको उम्मेदवारमा सहमति जुटेको हो।छलफलमा गगन संसदीय दलको नेता बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छ। थापालाई संसदीय दलको नेता कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत सुरुबाट समर्थन गरेका छन्।
मंसिर ४ को निर्वाचनको उम्मेदवारी घोषणा भएपछि आफू भावी प्रधानमन्त्री हुने भन्दै मत मागेका थापाले विजयी भएपछि संसदीय दलको नेता लड्न तयारी थालेको उद्घोष गरेका थिए। यता संस्थापन समूहबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन्।
संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ।