काठमाडौं । पछिल्लो समय डेंगु संक्रमण हुनेको संख्यामा क्रमशः कमी हुँदै गइरहेको देखिए पनि संक्रमित भइसकेका कतिपयमा भने लामो समयपछि पनि स्वास्थ्यमा निरन्तर समस्या देखिरहेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् । डा. पुनका अनुसार यस्ता व्यक्तिहरूले कम्तीमा दुई वा बढी लक्षणहरू अनुभव गरिरहेका छन् ।
‘शरीर तातिएको महसुस हुने (तर, ज्वरो नदेखिने), शरीर फतक्कै गल्ने, अत्यधिक कमजोरी महसुस हुने, कपाल झर्ने, सुतिराख्न मन लाग्ने जस्ता गुनासो उनीहरूले गरेका छन्’ डा. पुनले अनलाइनखबरसँग भने, ‘केही व्यक्ति मुटुको चालमा गडबडदेखि आत्महत्याको सोच पनि आएको बताउँछन् ।’
डेंगु संक्रमितहरू शारीरिक मात्रै नभएर मानसिक र मनोवैज्ञानिक समस्या लिएर पनि आइरहेको डा. पुन बताउँछन् । संक्रमणमुक्त भएको तीन महिनापछि पनि चक्रपथ बस्ने २६ बर्षिय प्रेम चन्द डेंगु सिर्जित दिक्दारीबाट मुक्त हुनसकेका छैनन् । ‘भोक भए पनि खाना रुच्दैन । तौल घट्दै गएको छ । तर, सुतिरहन मात्रै मन लाग्छ’, उनले स्वास्थ्य समस्या सुनाए । चन्दको अनुभवमा कोरोना भन्दा डेंगुले बढी सतायो । ‘मलाई दुई पटक कोरोना भएको थियो । तर, यत्ति धेरै गलाएको थिएन’ उनी भन्छन्, ‘डेंगुपछि मानसिक सँगै शारीरिक समस्यासँग लडिरहेको छु ।’
उपचारमा संलग्न चिकित्सकका अनुसार असोज तेस्रो हप्तादेखि पोष्ट डेंगुका बिरामीको संख्या बढ्दो क्रममा छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा.निरज बम पनि डेंगु संक्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएका केही व्यक्तिमा पोष्ट डेंगुको समस्या देखिरहेको बताउँछन् ।