बाजुरा। बाजुराका बाढीपहिरो पीडितले उम्मेदवारलाई घरबासको व्यवस्था गरेपछि मात्र भोट दिने बताएका छन्। चुनावी मैदानमा उत्रेका उम्मेदवारले गत साउनमा बाढीपहिरोका कारण उठीबास भएकालाई भोट दिनु होला भन्दै भेटघाट गरेसँगै उनीहरूले ती उम्मेदवारलाई पहिला घरबास त्यसपछि भोट दिने बताएका हुन्।
जिल्लाको बडिमालिका बुढीगङ्गा, त्रिवेणी, हिमाली, जगनाथ, स्वामिकार्तिक लगायतका सयौँ घरपरिवार बाढीपहिरोको कारण घरबारविहीन रहेका छन्। स्वामिकार्तिक गाउँपालिका वडा नम्बर १ मुक्तिकोटको खोलीकोटका स्थानीय उज्जल विकले बाढी पहिरोले विस्थापित भएपछि सबैलाई राहतको माग गर्दा पनि कोही कसैले नसम्झिएको भन्दै आक्रोश व्यक्त गरे।
बाढीपहिरोका कारण जिल्लाको साँझे मार्तडी सडक झण्डै ६ महिना हुँदा पनि कसैले यसको सुनुवाइ नगरेको भन्दै उनले अहिले ती स्थानीयले उम्मेदवार घरदैलोमा पुग्दा प्रश्न गर्ने गरेको बताए। जिल्लाको त्रिवेणी, बुढीगङ्गा, खप्तड छेडेदह गाउँपालिका लगायतका विभिन्न ठाउँका दर्जनौँ सडक अस्तव्यस्त हुँदा कुनै दलका प्रतिनिधिले नहेरेको स्थानीयको गुनासो छ।
जनताको मुख्य माग सडक भए पनि अहिले ती सडक कालोपत्र नहुँदा बर्खाको बेलामा स्थानीयले सधैँ आउजाउमा सास्ती खेप्दै आएका छन्।बाढीपहिरोबाट प्रभावित परिवारले बाढीपहिरोबाट प्रभावित भएको एक दुई महिनासम्म पनि कुनै राहत नपाएको बेलामा उम्मेदवार मत माग्न गएपछि उनीहरूले पहिला गाँसबास त्यसपछि मत दिने जवाफ दिएका हुन्।