दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

काठमाण्डाै । भन्सार नतिरी अवैध बाटोबाट भित्रिएका मोबाइल सेट शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार ‘सफ्ट लन्च’ गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)ले अवैध रूपमा भित्रिएका त्यस्ता मोबाइलमा दूरसञ्चार सेवा प्रदायकको सेवा प्रयोग गर्न नमिल्ने बनाएको हो । 

यससँगै नेपालमा मोबाइल प्रयोग गर्न अबदेखि अनिवार्य दर्ता भएको हुनुपर्नेछ । प्राधिकरणले बिहीबारसम्म (भदौ ३०) नेपालमा प्रयोग भइरहेका र विदेशबाट ल्याएका मोबाइल भने स्वतः दर्ता भएको र त्यस्ता मोबाइल प्रयोगमा कुनै अवरोध नहुने जनाएको छ । प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडाले त्यसपछिका मोबाइल भने दर्ता नगरी प्रयोग गर्न नमिल्ने बताए ।

प्राधिकरणले बिहीबार नै एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको सन्देशसहितको एसएमएस अधिकांश प्रयोगकर्तालाई पठाएको छ । एसएमएस प्राप्त नभए पनि बिहीबारअघि चालू अवस्थामा रहेका मोबाइल प्रणालीमा स्वतः दर्ता भएको प्राधिकरणले स्पष्ट पारेको छ ।

कसरी गर्ने दर्ता ? 

एमडीएमएस लागू भएको सन्देश आएपछि धेरै प्रयोगकर्ताले यसको दर्तासम्बन्धी चासो देखाएका छन् । प्राधिकरणका अनुसार भदौ ३० सम्म प्रयोगमा रहेका कुनै पनि मोबाइल दर्ता गर्नुपर्दैन । यस्ता मोबाइललाई प्राधिकरणले ‘ह्वाइट’ सूचीमा राखिसकेको छ । त्यसपछि पनि मोबाइल बिक्रेताबाट भ्याट बिलसहितको मोबाइल खरिद गरेकोमा आफैँ दर्ता गर्नुपर्दैन । त्यस्ता मोबाइल बिक्रेताले मोबाइल आयात गर्नुपूर्व नै प्राधिकरणमा आईएमईआई दर्ता गराइसकेका हुन्छन् ।

यद्यपि मोबाइल खरिद गर्नुअघि उक्त मोबाइल दर्ता छ वा छैन भनेर जान्न तपाईंले एमडीएमएससँग सम्बन्धित प्राधिकरणको वेबसाइट mdms.nta.gov.np  मा गएर उक्त मोबाइलको आईएमईआई राखेर आफैँ जाँच गर्न सकिन्छ । विदेशबाट मोबाइल ल्याएको भए त्यसलाई प्राधिकरणमा दर्ता गर्नुपर्ने छ । सोही वेबसाइटको आईएमईआई दर्तामा क्लिक गरेर मोबाइलको आईएमईआई र नागरिकताको फोटो अपलोड गरेर दर्ताको निवेदन दिन सकिनेछ । यो सेवा निःशुल्क हुनेछ ।

प्राधिकरणले त्यसको परीक्षण गरेर उक्त मोबाइल सेटलाई ‘ह्वाइट’ सूची अर्थात् दर्ता भएको सूचीमा राख्छ । विदेशबाट मोबाइल ल्याउनेको हकमा प्राधिकरणले भन्सार विभागकै नीति अख्तियार गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.