आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा–आराधना गरिँदै

भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी। सनातन धर्मावलम्बी महिलाको विशेष पर्व। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।

महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। सप्तर्षिमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ पर्र्दछन्। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ।

सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ।ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधान छ।

पूजा सकी महिलाहरू कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.