विद्यालय कर्मचारी परिषद्को आह्वानमा दुई दिन विद्यालय बन्दपछि निर्वाध खुलेका छन् । दुई सातादेखि आन्दोलित परिषद्ले आइतबारदेखि सुरु गरेको सामुदायिक विद्यालय बन्द कार्यक्रम फिर्ता लिएको हो ।
परिषद्ले घोषणा गरेको आन्दोलनका कारण आइतबार र सोमबार देशभरका सामुदायिक विद्यालय मिश्रित रूपमा खुल्ने र बन्द थिए । विद्यालय बन्द हुँदा पठनपाठन ठप्प भएपछि चौतर्फी विरोध भएको थियो । सरकारले पनि विद्यालय बन्दको कार्यक्रम फिर्ता लिए मात्र वार्तामा बस्ने अडान लिएपछि परिषद्ले बन्दका कार्यक्रम फिर्ता लिएको हो ।
परिषद्ले आइतबार एक सातासम्म विद्यालय बन्द घोषणा गरेको थियो । तर, वार्ता र संवादबाटै माग पूरा गराउने भन्दै परिषद्ले सोमबार विज्ञप्ति जारी गरेर बन्द कार्यक्रम फिर्ता लिएको हो । परिषद् अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगी र आन्दोलन परिचालन समिति संयोजक बब्बनकुमार मिश्रले विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
परिषद्ले विद्यालयका लेखापाल÷कार्यालय सहयोगीलगायत कर्मचारीको सेवा सुविधालगायत माग राख्दै आएको छ । परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी लामो समयदेखि ‘चरम अन्याय र श्रम शोषणमा परिरहेको’ भन्दै सम्बोधन गर्न माग गरेको छ । शिक्षक महासंघले पनि परिषद्को आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।