प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवारी दर्ता गरेसँगै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पद सकिने बताएका छन् । उनले भने ‘प्रतिनिधिसभा र प्रदेशसभाको पदमा दशैँलगत्तै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी मिति तय गर्नुपर्ने देखिन्छ, उम्मेदवारी दिएपछि निजहरूको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको धारणा छ ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् । उनले त्यसको कानुनी व्याख्या गरेर आयोगले सार्वजनिक गर्ने पनि बताए । सरकारले मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएपछि आयोगले आज पत्रकार सम्मेलन गरेर सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने बताए ।
यद्यपि उनले प्रदेशसभा र प्रतिनिधिसभाको कार्यकालको व्याख्या आयोगले नगर्ने बताए । उनले निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने र त्यसको पाँच वर्षमा सकिने व्यवस्था रहेको पनि स्मरण गराए । उनले सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता, संसदीय अभ्यास, संविधान र कानुनी व्यवस्थाअनुसार हुनुपर्ने बताए ।