धनगढी । बैतडीबाट तीन वर्षको अवधिमा झन्डै २ सय जना मानिस हराएका छन्। आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म १८९ जना हराएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
आर्थिक वर्ष २०७६/७७ मा ४५, २०७७/७८ मा ६०, २०७८/७९ मा ८४ जना हराएका प्रहरीको तथ्यांक छ। हराएकामध्ये आर्थिक बर्ष २०७६/७७ मा ३८, २०७७/७८ मा ३९ र २०७८/७९ मा ५३ जना फेला परिसकेका छन्। ५९ जना भने अझै सम्पर्कविहीन रहेका प्रहरी प्रवक्ता जोशीले बताए। हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका बताइएको छ।
हराएका आफन्त फेला परिसकेपछि जानकारी नआउने हुँदा हराएकाहरु फेला परेको तथ्यांक एकीन गर्न गाह्रो हुने गरेको प्रवक्ता जोशीले बताए। बैतडी भारतसँग सीमा जोडिएको नाका हो। त्यस कारण नाकाबाट भारत जाने नागरिक समेत हराउने गरेका छन्।