धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ मा विनियोजित कूल बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात् रु २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको छ । आर्थिक मामिला मन्त्रालय धनगढीमा बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गरेर प्रगति विवरण सार्वजनिक गरेकाे हाे ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खर्च रकममध्ये चालुतर्फ रु नौ अर्ब एक करोड ६४ लाख ४० हजार (७१ दशमलव ७१ प्रतिशत) र पुँजीगततर्फ रु ११ अर्ब ९४ करोड ९७ लाख ५२ हजार (६४ दशमलव २३ प्रतिशत) रहेको छ । आव २०७८/७९ मा प्रदेश सरकारको विनियोजित बजेट रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको रहेको थियो ।
योमध्ये चालुतर्फ रु १२ अर्ब ३८ करोड ५४ लाख तीन हजार, पुँजीगततर्फ रु १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ३० करोड विनियोजन गरिएको थियो । पत्रकार सम्मलेनमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले चालु आवको बजेट तयार गर्दा केही प्राविधिक कमी कमजोरीबाहेक कुनै गलत काम नभएको जिकिर गरे ।
मन्दिर निर्माण कार्य विगतमा पनि प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयबाट हुने गरेका थिए तर यसपटक प्रावधिक त्रुटीले सामाजिक विकास मन्त्रालयको कार्यक्रममा पनि मन्दिर निर्माणको योजना परेकोले बढी चर्चा भएको उनले बताए । उनले चालु आर्थिक वर्षको बजेटले खेलकूद र स्वास्थ्यमा अझ राम्रो परिणाम दिने विश्वास पनि व्यक्त गरे ।
सो मन्त्रालयका राज्यमन्त्री अमरबहादुर साउदले गत वर्षको वेमौसमी वर्षाले गरेको क्षतिको पुर्ननिर्माण गर्नु पर्ने भएकोले समेत भौतिक पूर्वाधारमा बढी बजेट देखिएको बताए । सो अवसरमा सो मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले ४० प्रतिशत जनशक्ति नहुँदा गत आर्थिक वर्षमा खर्च धेरै हुन नसकेको बताए । उनले भने , हाम्रा ऐन नियमले गर्दा साउनमा लागत अनुमान, भदौमा टेण्डर आव्हान जस्ता अनेक प्रक्रिया पूरा गर्दा मङ्सिरमा मात्र काम शुरु हुने भएकोले खर्च अपेक्षितरुपमा हुन नसकेको हो ।
उनले गतवर्षको अन्तिममा प्रावधिक कारण ६० करोड भुक्तानी हुन नसक्दा पनि खर्च प्रतिशत कम देखिएको बताउदै अरु तीन प्रदेशको तुलनामा बढी खर्च गरेको बताए । सुदूरपश्चिमले २० अर्व ९६ करोड ६१ लाख ९२ हजार रुपियाँ अर्थात ६६.६१ प्रतिशत खर्च गरेको उनले बताए ।