राना थारु बस्तीमा छायाे सावनको डोलाको रौनक

धनगढी । कैलाली कञ्चनपुरका राना थारु गाउँमा सावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् ।

साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । पिङ भने महिलाले राख्दैनन् । 

सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजु भाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन पुरानै रहेको छ । “यो चलन परम्परागत रुपमा चल्दै आएको छ”, धनबहादुर रानाले भने, “दिदीबहिनीले पिङमा मच्चिदै रमाइलो गर्दै माङ्गलिक गीत गाउने गर्दछन् । पिङलाई रानाथारु भाषमा डोला भन्ने गरिन्छ । चारवटा काठको खावाँमा डोरीमा काठको फल्याक बाधेर पिङका रुपमा प्रयोग गरिन्छ ।”

पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको राना थारु अगुवा नवलसिंह रानाले बताए । दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामना गरी यस अवसरमा तिज मनाउने गर्दछन् । निरहार बसेका दिदीबहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।  

गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविविहीतले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तीसँगै विर्सजन गर्ने चलन रहेको छ । विर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी बरदान माग्ने गर्दछन् । जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस सामुदायमा रहेको छ ।

दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँदा छन् । साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रुपमा समापन गर्ने गरिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.