पार्टी विधानविपरीत आफूलाई कांग्रेसबाट हटाएको मल्लकाे आरोप

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य कर्णबहादुर मल्लले पार्टी विधानविपरीत आफूलाई कांग्रेसबाट हटाएको आराेप लगाएका छन् । उनले बिहीबार डडेल्धुरा जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। नेपाली कांग्रेसले मंगलबार मात्रै पार्टीको विधानविपरीत कार्य गरेको भन्दै मल्ललाई सदस्यसमेत नरहने गरी हटाएको थियो।

डडेल्धुरामा नेपाली कांग्रेस (बिपी)मा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेपछि मल्ललाई कांग्रेसबाट हटाइएको हो। डडेल्धुरामा सातै स्थानीय तहमा बिपी कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरेको छ। कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। देउवा समूहले जिल्ला अधिवेशन अवैधानिक ढंगले गरेको आरोप उनीहरूको थियो। उनीहरू ११ दिनसम्म अनशन बसेर प्रदर्शन गरेका थिए। त्यसपछि केन्द्रबाट कांग्रेसका नेताहरू डडेल्धुरा पुगेरै माग सुनुवाइ गर्ने आश्वासन दिँदै मल्ल समूहलाई अनशन स्थगित गर्न लगाएका थिए। अनशन स्थगित गरेपछि पनि नेपाली कांग्रेसले उनीहरूको माग सुनेको थिएन।

त्यसैले कांग्रेसको १४ औं महाधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। आफूलाई दिइएको आश्वासनमा कुनै सुनुवाइ नगरी महाधिवेशन शुरु गरेको भन्दै पुनः मल्ल समूहले असन्तुष्टि व्यक्त गर्दै आएको थियो। नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको घोषणापत्र नै नभएको भन्दै बिपी कोइरालाको घोषणापत्र (मेनिफेस्टो)र अहिलेको घोषणापत्र कसरी मिल्छ ? यसबारे आफूले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउन सक्ने बताए।

महामन्त्री थापाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए। त्यसको दोस्रो दिन नेता मल्लले आफू बिपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ? भनेर थापालाई ट्युसन पढाउन सक्ने बताएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू कांग्रेस (बिपी)बाट स्थानीय तहको निर्वाचनमा जानुपरेको मल्ल समूहको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.