नयाँ वर्ष २०७९ सुरु, सुदूरपश्चिम प्रदेशमा आज विसुु पर्व मनाइँदै

धनगढी । विक्रम सम्वत २०७९ साल आजदेखि सुरु भएको छ ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसुु पर्वका रुपमा मनाउने गरेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको बझाङका कुम्भराज पण्डितले बताए । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने उनकाे भनाई छ ।

सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसुु पर्व मनाउने गरिएको छ । देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष तथा विसु पर्व मनाउने गरेका छन् । आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको अमरगढी नगरपालिका–७ का टेकराज भट्टले बताए ।

आजका दिन सिस्नो लगाउँदा वर्षभरि राम्रै बित्ने र सङ्कट नआउने उनको भनाई छ । यस्तै आजै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजाआर्चना गरिने गरेको र धेरैजस्तो शक्तिपीठमा पशुबलिसमेत दिने गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.