डडेल्धुरा । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो नलगाउने बताएका छन् । तीन दिनअघि धनगढीमा प्रधानमन्त्री पत्नी आर्जु राणा देउवाले आसन्न स्थानीय निर्वाचनमा गठबन्धनसँग तालमेल आवश्यक रहेकाे र आफु धनगढी क्षेत्रवाट गठबन्धनकाे उम्मेदवार हुने उद्घाेष गरेपछि प्रधानमन्त्रीकै गृहजिल्ला डडेल्धुरा पुगेर बलायरले प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए ।
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताएका छन् । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए । ‘कांग्रेसका कार्यकर्ताले तालमेल चाहेका छैनन्,’ सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले भने, ‘माओवादी र समाजवादीलाई बनाउनका लागि कार्यकर्ताको भावना विपरीत काम गर्ने कुरा पनि भएन ।’ उनले अरूका लागि आफ्नो घरमा आगो नलगाइने बताए ।
‘केन्द्रले जस्तोसुकै निर्णय गरे पनि सबैले त्यसलाई मान्नुपर्छ भन्ने हुँदैन,’ उनले भने, ‘अन्य ठाउँमा गठबन्धन गर्नुपर्ने स्थिति हुन पनि सक्छ । तर, सुदूरपश्चिममा गठबन्धन घातक हुनेछ । यहाँ कांग्रेस एक्लै चुनाव लड्छ र पहिलो पार्टी बन्छ ।’ पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै सभापति बलायरले सुदूरपश्चिम प्रदेश सरकारमा दुई पार्टीले मनोमानी गरेको आरोप लगाए ।
पार्टीको केन्द्रीय निर्णयअनुसार सुदूरपश्चिममा कांग्रेसले सरकारलाई समर्थन दिएको भए पनि हालसम्म दुई पार्टी माओवादी र समाजवादीले मनमानी गरेर सरकार चलाएको भन्दै उनले कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा हेरिएको बताए ।