प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहायता परियोजना एमसिसीमाथि छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा पनि एमसिसीलाई समावेश गरिएको छ ।

पाँच दलीय सत्ता गठबन्धनले एमसिसीको विषयमा अहिलेसम्म पनि सहमति जुटाउन सकेका छैन ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमसिसी छिटो अनुमोदन हुनुपर्ने पक्षमा छन् । सत्तामा रहे पनि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तत्काल एमसिसी पास गर्न नहुने अडानमा छन् । सत्ता गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टी (जसपा) पनि एमसिसीको विषयमा सहमति जुटाउन सकेको छैन ।

जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसिसी तत्काल पास गर्नुपर्ने पक्षमा छ । तर, पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले भने अहिलेकै अवस्थामा एमसिसी पास गर्न नहुने अडान कायमै राखेको छ । एमसिसीको विषयमा सहमति जुट्न नसक्दा जसपा विभाजन हुने सम्भावना पनि बढेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने एमसिसीको विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । उसले सत्ता गठबन्धनको एमसिसी धारणा सार्वजनिक भएपछि मात्र आफूहरू यस विषयमा अगाडि बढ्ने बताउँदै आएको छ । प्रतिनिधिसभामा १३ जना सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । बुधबार बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.