डडेल्धुरा । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत डडेल्धुरामा ९४ हजार तीन सय १४ को नाम दर्ता भएको छ। शुक्रबार जिल्ला सदरमुकाममा छैठौं निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सो तथ्याङ्क सार्वजनिक गरेको हो।
२०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ जना रहेको थियो। पछिल्लो तथ्याङ्क हेर्दा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा ६ हजार दुई सय ६९ मतदाता संख्या थपिएको हो। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य सुरू गरेपछि नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।
जिल्लाको अमरगढी नगरपालिकामा १४ हजार आठ सय दुई, परशुराम नगरपालिकामा २२ हजार तीन सय २७ जना मतदाता रहेको निर्वाचन अधिकारी अवस्थीले बताए। उनका अनुसार अजयमेरू गाउँपालिकामा १२ हजार दुई सय ६३, आलिताल गाउँपालिकामा ११ हजार दुई सय ७६, गन्यापधुरा गाउँपालिकामा १० हजार ९ सय ५८, नवदुर्गा गाउँपालिकामा १३ हजार ६ सय ८० र भागेश्वर गाउँपालिकामा ९ हजार आठ जना मतदाता रहेका छन्।
प्रतिनिधिसभातर्क एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फ भने २ वटा निर्वाचन क्षेत्र रहेका छन्। जसका लागि मतदामन स्थल ८० र मतदान केन्द्र एक सय १० रहेको जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले जनाएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जिल्लाको कुल जनसंख्या एक लाख ३९ हजार चार सय २० रहेको छ।