प्रदेशका विशेष आयोजनाहरु राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने
मन्त्रीपरिषद बैठक
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विशेष तथा समपूरक आयोजनाहरु राष्ट्रिय योजना आयोगमा सिफारिस गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले समपूरक तथा विशेष आयोजनाहरु आयोगमा सिफारिस गर्ने निर्णय भएको हो।
प्रदेशभित्रका १४ वटा विशेष र २५ वटा समपूरक आयोजनाहरु छनौट गरि आयोगलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । बैठकले प्रदेशसभा सदस्य नेपालु चौधरीलाई २९,२५० र अक्कलबहादुर रावललाई ५७,१४३ रुपैया औषधि उपचार खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
सार्वजनिक कार्यालयकालागि जग्गा उपलब्ध गराउने जग्गा दाताले लिखित पारित गराउँदा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट गर्ने निर्णय पनि भएको उनले बताइन् । ‘जग्गादातालाई प्रोत्साहन गर्न कानुनमा भएको व्यवस्था बमोजिम दस्तुरमा छुट दिने निर्णय भएको हो’ उनले भनिन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत आएको प्रस्ताव अनुसार प्रदेशको गाडीको इम्बोस्ड नम्बरमा राखिने अंग्रेजी नाममा फेरबदल गरिएको छ । ‘इम्बोस्ड नम्बर (नम्बर प्लेट)मा लेखिने नम्बरमा सुदूरपश्चिम लेख्दा ११ नम्बर हुन आउँछ’ उनले भनिन् ‘यातायात व्यवस्था विभागको सिस्टममा नौ अक्षरमात्र अटाउने रहेको छ । विभागको सिस्टममा इम्बोस्ड नम्बर अटाउनका लागि अंग्रेजी नाम फेरबदल गरिएको हो ।’ अब प्रदेशका गाडीमा राखिने नम्बर प्लेटमा ‘क्यापिटलमा एस.यु.पि.ए’ लेखिने छ ।
यस्तै, प्रदेशको उच्च विद्यालयको सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कार्यदलको समयावधि थप गरिएको छ ।