एमालेले लामो समयको अन्तरालमा शुक्रबार एकैदिन ७७ जिल्ला कमिटीको अधिवेशन गर्दैछ । दशौँ महाधिवेशन सकिएको एक महिनाकै बीचमा एमालेले एकैदिन सबै जिल्लाको अधिवेशन गर्न लागेको हो ।
जिल्ला अधिवेशनलगत्तै ८ माघमा एकैदिन सबै प्रदेशको अधिवेशन गर्ने एमालेको तयारी छ । सात वर्षपछि हुन लागेको अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।सातदेखि आठ वर्षसम्म एउटै व्यक्ति एउटै तहको पदमा रहँदा वडादेखि केन्द्रसम्म नेतृत्व विकास अवरुद्ध भएको छ । यही कारण शुक्रबारको जिल्ला अधिवेशनमा एमालेको विशेषतः युवा समूहका धेरै कार्यकर्ता जिल्लामा पदाधिकारीका लागि आकांक्षी देखिएका छन् ।
आकांक्षी धेरै देखिएपछि नेतृत्व चयन गर्न सहज बनाउन केन्द्रीय कार्यालयका तर्फबाट संगठन विभागले बिहीबार निर्देशन जारी गरेको छ । विभागका प्रमुख खगराज अधिकारीले जारी गरेको निर्देशनमा जिल्लामा पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने उल्लेख छ ।
यस्तै एकताबाट पार्टीमा संगठित भएकाहरूको हकमा भने पूर्वपार्टी अर्थात् तत्कालीन नेकपा वा पूर्वमाओवादी समूहमा जो जुन तहको जिम्मेवारीमा छ, उसलाई त्यही तहको जिम्मेवारी दिने गरी एमालेले निर्देशन जारी गरेको छ ।