सुदूरपश्चिम वन निर्देशक विष्टविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अनियमिततामा दोषी देखिएका सुदूरपश्चिम वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध बुधबार भ्रष्टाचार आरोपमा मुद्दा चलाएको छ । वन निर्देशक विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै सोही बराबरको रकम बिगो दाबी गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूको किर्ते दस्तखत गर्ने‚ नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रहेको भन्दै सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन ब्यवस्थापन अध्ययन उपसमितिले आयोगमा उजुरी दिएको थियो ।
विष्ट सेवामा आवद्ध भएको अवधि २०५५।०१।२७ देखि २०७७।०७।१७ सम्ममा उनको स्रोत खुलेको वैध आय १७ करोड ३७ लाख १२ हजार ६ सय २९ रुपैयाँ ३८ पैसा रहनुपर्नेमा उनको लगानी र खर्च जम्मा २४ करोड २४ लाख ६९ हजार ७ सय ९ रुपैयाँ ९८ पैसा देखिन आएको आयोगद्वारा दायर आरोपपत्रमा उल्लेख गरिएको कान्तिपुर अनलाइनमा खवर छ ।