बिहे गरेर छुट्टिनेमा कैलालीका पुरुष भन्दा महिला बढी

धनगढी । कैलालीमा बहुविवाह गर्ने पुरुषसँगै महिलाको संख्या पनि बढ्दै गएको पाइएको छ। सुदूरपश्चिमका ९ जिल्लामध्ये सबैभन्दा बढी बहुविवाह कैलालीमा हुने गरेको पाइएको हो। जिल्लामा बहुविवाह गर्ने पुरुषको संख्या ७ हजार ४ सय ८४ पुग्दा महिलाको संख्या १ हजार ७ सय ६ पुगेको छ।

यसरी कूल ९ हजार १ सय ९० जनाले बहुविवाह गरेको जिल्ला अदालत कैलालीले जनाएको छ। जिल्लाभित्र २ सय ७० पुरुष छुट्टिएर बस्दा महिलाको संख्या झण्डै दोब्बर अर्थात ४ सय १३ पुगेको छ। विवाह गरेर छुट्टिनेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर छ। ग्रामीणभन्दा सहरी क्षेत्रमा सामाजिक सञ्जालका कारण पनि विवाह सम्बन्धी समस्या बढ्दै गएको सरोकारवाला बताउँछन्।

बहुविवाह पछिल्लो समय समाजकै लागि चिन्ताको विषय बनिरहेको दलित महिला अधिकार मञ्च कैलालीकी अध्यक्ष सावित्रा घिमीरेले बताइन्। ‘बहुविवाह गर्नेको संख्या बढ्दो छ, यसले बालबालिका र सिंगो परिवारलाई नै असर त गर्छ नै। तर एक अर्काबीच विश्वासमा कमी आउनु, सँगै बस्नसक्ने अवस्था नभएपछि छुट्टिनु नै उपयुक्त विकल्प हुन्छ।’

कतिपय बहुविवाहका मुद्दा गाउँघरमै मिलाउने प्रवृत्ति कायम देखिएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुञ्जेडाले बताए। ‘हरेक महिना बहुविवाह सम्बन्धीका उजुरी दर्ता भइरहेको देखिन्छ। श्रीमान विदेशमा हुनु, सामाजिक सञ्चालको गलत प्रयोग, लुकीछिपी गर्ने सम्बन्ध बाहिरिने अवस्थाले पनि छोडपत्रका घट्नामा वृद्धि भइरहेको छ’ उनले भने।

बढ्दो आधुनिकता तथा सहरीकरणसँगै वैवाहिक समस्या समाजमा बढ्दै गएको छ। साथै विवाहको प्रकृति, बहुविवाह, पुनःविवाह, पारपाचुकेजस्ता घटनाहरुको वृद्धिले सामाजिक संरचनालाई समेत चुनौती दिइरहेको छ। कैलालीमा पुर्नविवाह गर्ने पुरुषको संख्या ७ हजार ४८ पुग्दा महिलाको संख्या ४ हजार ३ सय २६ पुगेको हो।

बहुविवाह र पुर्नविवाह गर्नेमा संख्यात्मक रुपमा पुरुष नै अगाडि देखिएपनि यो मामिलामा महिलाको संख्या पनि क्रमिक रुपमा बढ्दै गएको विभिन्न अध्ययनले देखाइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.