अत्तरियामा पुस २७ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महाेत्सव लाग्ने
धनगढी । कैलालीकाे अत्तरियामा पुस २७ गतेदेखि महाेत्सव लाग्ने भएकाे छ । बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेर ‘सम्वृद्ध प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ पुस २७ गतेदेखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुने अत्तरिया उद्योग वाणिज्य संघले जानकारी गराएकाे हाे ।
कोरोना महामारीका कारण विगत २ वर्षदेखि सञ्चालन हुन नसकेको महोत्सव यो वर्ष छैटौ संस्करणका रुपमा आयोजना हुने बताइएकाे छ । अत्तरियास्थित दुर्गामन्दीर पछाडीको खाली मैदानमा आयोजना हुने महोत्सवमा १ सय ५० व्यापारिक स्टल रहने उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए। महोत्सवमा विद्यार्थीका लागि सहुलीयतमा ४० र अन्यका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। महोत्सव प्रवेशमा अपाङ्ग, अशक्त र वृद्धलाई निःशुल्क गरिएको आयोजकले जनाएको छ।
रमाइलो मेलासहित महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ। महोत्सव आयोजनाका लागि झण्डै करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ।