डडेल्धुराका जिल्ला समन्वय प्रमुख भट्टको निधन

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ।काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका भट्टको सोमबार निधन भएको हो।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन डडेल्धुराबाट काठमाडौं पुगेका प्रमुख भट्ट मंसिर २८ गते एक्कासी बेहोस भएका थिए।

त्यसपछि उनलाई सुमेरु अस्पतालमा भर्ना गरियो। त्यहाँ ठीक नभएपछि थप उपचारका लागि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो। सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ‘ब्रेन ह्यामरेज’ भएको बताएका थिए।०४६ सालमा पाटन क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएका भट्टको कांग्रेस राजनीतिमा योगदान छ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिवसमेत भएका भट्ट सातौं जिल्ला अधिवेशनबाट यसपटक कांग्रेस डडेल्धुरा प्रदेश (ख) का क्षेत्रीय सभापति बनेका थिए।५० वर्षीय भट्ट डडेल्धुरा जिल्ला अदालत बार एकाइका पूर्वअध्यक्षसमेत हुन्।जनआन्दोलनमा उनले करिब ३ महिना जेल जीवन बिताएका थिए।

०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेपछि उनीलगायत ४ जनाले डडेल्धुरामा आन्दोलनको नेतृत्व गरेका थिए। माघ २५ गते उनीहरू जेल परेका थिए। भट्टका २ छोरी र १ छोरा छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.