माओवादी राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि, घाईतेअपाङ्ग १ जना अनिवार्य
‘नयाँ विचार र राजनीतिक कार्यदिशासहितको नयाँ क्रान्तिकारी पार्टी’ निर्माणमा जोड दिदैं नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा पुस ११–१३ सम्म काठमाडौंमा हुने भएकाे छ । सम्मेलनमा करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुने छन् । पुस ११–१३ सम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा प्रत्येक प्रदेशबाट ३० जनाका दरले प्रतिनिधि छनोट गर्ने र बाँकी १ हजार ५ सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादीले गरेको छ ।
नयाँ नेतृत्वसहित राजनीतिक र वैचारिक विषय टुंगो लगाउने राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्य स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै, प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते/अपांगहरूलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय माओवादीले गरेको छ । केन्द्रीय कार्यालयबाट ५ प्रतिशत मनोनीतसहित केन्द्रीय विभागबाट ३/३ जना प्रतिनिधि हुनेछन् । ‘भूगोलबाट निर्वाचित भएर ८ सय र केन्द्रीय पदाधिकारीबाट करिब ५ सय (केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारबाट सबै र केन्द्रीय विभागबाट ३/३) जना राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुनेछन्, त्यसबाहेक केन्द्रीय कार्यालयले ५ प्रतिशत मनोनीत गरी बढीमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन्,’ स्थायी कमिटी सदस्य गणेश साहले भने ।
सम्मेलनमा सहभागी हुने प्रतिनिधिलाई प्रतिव्यक्ति २ हजार प्रतिनिधि शुल्क तोकिएको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले खाने, बस्नेलगायत खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने माओवादीले जनाएको छ । यसबाहेक केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने लेबी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिको नामावली मंसिर २९ सम्म केन्द्रीय कार्यालयमा पठाउन सर्कुलरमार्फत दाहालले निर्देशन दिएका छन् । वडा र पालिका सम्मेलन गरिसकेको माओवादीले मंसिर २५ मा प्रदेश सम्मेलन गर्दै छ ।