धनगढी उपमेयर कप राष्ट्रिय महिला लिगका लागि छनोट
धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएकाे छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा कैलालीकै गौरीगंगा नगरपालिकालाई ४–० ले हराउँदै धनगढी टीम राष्ट्रिय लिगका लागि छनोट भएको हाे।
खेलकाे सुरुआतबाट नै दबाब दिएर खेलेको धनगढीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएकाे हाे । ३१ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ।
प्रतियोगिताको विजेताले पाँच लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले तीन लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन्।