यसै बर्षदेखि धनगढीकाे स्तरोन्नती र मझगाउँ विमानस्थल सञ्चालनमा ल्याइने
धनगढी विमानस्थलको अध्ययन र निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेसहित प्राधिकरणको टोली धनगढी पुगेर निजी क्षेत्रसँग त्यसैगरी छलफल गरेको छ। यसअघि तयार पारिएको २० वर्षे गुरुयोजनालाई थप अध्ययन र फिल्ड अवलोकनका लागि पर्यटन मन्त्रीसहितको टोलीले निजी क्षेत्रसहित सरोकारवालासँग छलफल गरेको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए।
‘विमानस्थल स्तरोन्नतीलाई जतिसक्दो छिटो कार्यान्वयन गर्न मन्त्रीसहितको टोलीले छलफल चलाएको हो’ उनले भने।पहिले धनगढी विमानस्थलको उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फको बढी क्षेत्रफल अधिग्रहण गर्नुपर्ने गरी गुरुयोजना सार्वजनिक गरिएको थियो। ती स्थानहरुमा स्थानीयले पक्की भौतिक संरचना बनाउन समेत छोडेका छन्। तर गुरुयोजना अनुसार अहिलेसम्म कुनै काम हुन सकेको छैन।
छलफलका क्रममा विमानस्थल स्तरोन्नती गर्न करिब १५ अर्ब लगानी आवश्यक पर्ने देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले बताए। गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख छ। पहिलो चरणमा निर्माणको लागि १ अर्ब ८ करोड, दोस्रो चरणमा ४ अर्ब ९८ करोड र तेस्रो चरणमा ६ अर्ब ८ करोड लगानी आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। पहिलो, दोस्रो र तेस्रो चरणमा गरी २० वर्षे गुरुयोजना तयार पारिएको थियो।
तर पर्यटनमन्त्री प्रेम आलेले भने प्रदेश सरकारको २० प्रतिशत लगानीसहित ४ अर्बमै ४ वर्षभित्र विमानस्थल स्तरोन्नती गर्न सकिने दाबी गरेका छन्। छलफलका क्रममा उनले भने, ‘१२ अर्ब होइन हामी ४/५ अर्बमै ४ वर्षभित्र निर्माणको काम सम्पन्न गरेर देखाउँछौँ। म झुटो बोल्दैन, जे बोल्छु त्यो गरेर देखाउँछु।’ मुआब्जा यसै वर्षदेखि दिन सुरु गरिने उनले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। आज महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल क्षेत्रको अवलोकनका क्रममा उहाँले विमानस्थलको धावनमार्गको क्षेत्रफल बढाएर भए पनि विमानस्थल सञ्चालन गरिने बताए। “विमानस्थलसँग ७० बिघा जग्गा रहेको छ”, उनले भने, “दक्षिणतर्फको ५०० मिटर जग्गा अधिग्रहण गरी विमानस्थल विस्तार गर्छौं।”
बन्द विमानस्थल सञ्चालन गर्नका लागि ५३ करोड ६० लाख बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उहाँले बोलपत्र आह्वान टेण्डरको कार्य पूरा भएको बताए। “बोलपत्र आह्वान भइसकेको छ”, उनले भने, “काठमाडौँ फर्केलगत्तै सम्झौता गर्छौं। काम सुरु हुन्छ।”