सुदूरपश्चिममा बाढीपहिरो: तीन जनाको मृत्यु, एक जना बेपत्ता
हेलिकप्टरबाट उद्धार गरिदै
धनगढी । आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार डोटीमा दुइ जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको हो।
त्यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन्। कैलालीमा बेपत्ता भएका १ जनाको खोजी भइरहेको प्रहरीले जानकरी दिएको छ। भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टकाे पहलमा गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर पठाएकाे गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।
बाढी पहिरोको कारण कैलाली, डोटी, अछाम, बझाङ लगायतका स्थानमा सडक अवरुद्ध भएको छ।यस्तै ६ जनाको घर भत्किएको छ। वर्षाकै कारण पहाडी ७ जिल्लामै विद्युत तथा सञ्चार सेवा अवरुद्ध बनेको छ। २ दिनदेखि भइरहेको वर्षाका कारण तराईका २ जिल्ला डुबानमा परेका छन्।